Fully furnished apartment rentals - Casa Deyra
casadeyra blog

Blog.

सर्भिस अपार्टमेन्ट कल्चर बसाल्दै ‘कासा डेरा’, दश महिनामै ३५ वटा युनिट अपार्टमेन्ट आबद्ध

Dec 30, 2018
35-unit-boss

काठमाडौं। एक बर्षअघि जागिरे जीवन हापेर आफ्नै व्यवसाय थाल्ने तलतल मेटाएका रूपेश महतोको अनुहारमा सन्तुष्टिका रेखा प्रस्ट देखिन्थे– दश महिनाअघि थालेको प्रोपर्टी म्यानेजमेन्ट कम्पनीबारे सुनाइरहँदा। 

मिडिया, एडभरटाइजिङ, रियल इस्टेट, अटोमोबाइल्स लगायत क्षेत्रमा गरी करीब दुई दशक बिताएका महतोसहितको समूहले ‘सर्भिस अपार्टमेन्ट’ चलाउने कम्पनी ‘कासा डेरा’ सञ्चालनमा ल्याएको छ। 

एउटै ब्रान्डमा एकसाथ धेरै स्थान र संख्यामा व्यवस्थित सर्भिस अपार्टमेन्ट सञ्चालन गर्ने नेपालकै पहिलो कम्पनी पनि हो यो। यसैले नेपालमा व्यावसायिक सर्भिस अपार्टमेन्ट कल्चर स्थापित गर्ने सवालमा यो माइलस्टोन साबित हुने अनुमान गर्न सकिन्छ। 

‘व्यक्तिगत रूपमा एक–दुई युनिट सर्भिस अपार्टमेन्टका रूपमा भाडामा लगाउन थालिएको नेपालमा नौलो होइन,’  महतोले भने, ‘केही डेभलपरले पनि आफ्नै हाउजिङ/अपार्टमेन्ट प्रोजेक्टका युनिटबाट सर्भिस अपार्टमेन्ट नचलाएका होइनन्। तर, अर्गनाइज्ड रूपमा सर्भिस अपार्टमेन्ट सञ्चालन गर्ने हामी पहिलो हौं।’
सर्भिस अपार्टमेन्टको अवधारणामा रूपेशलाई व्यवसाय थाल्न हौसाउनेदेखि कासा डेराको न्वारानसम्म सक्रिय नाम हो— सुबु श्रेष्ठ। एडभरटाइजिङ कम्पनी ‘बिजनेस एडभान्टेज’ मा काम गर्दा रूपेशका लीडर रहेका श्रेष्ठ र दीपेन्द्र टन्डन दुवैजनाले अहिले रूपेशको सपनालाई ब्याकअप दिएका छन्, कासा डेरामा साझेदारका रूपमा। 



श्रेष्ठले व्यक्तिगत रूपमा ठमेलमा सर्भिस अपार्टमेन्ट सञ्चालन गर्दै आएका थिए, जुन उनले ‘एयरबीएनबी’ मा समेत लिस्टिङ गराएका थिए। यसैले श्रेष्ठलाई अनुभव थियो, र बजार अनुमान पनि कि काठमाडौंमा ठूलो स्केलमा सर्भिस अपार्टमेन्ट व्यवसायको स्कोप छ। सोही अनुमानको आडमा करिब दुई महिना बजार अध्ययन गरेपछि तीनैजनाले निक्र्योल गरे— सर्भिस अपार्टमेन्ट सुरु गर्ने।

अब कम्पनीको नाम राख्नु थियो। लक्षित ग्राहक थिए गैरसरकारी संस्थामा काम गर्ने स्वदेशी तथा विदेशी, पर्यटक, गैरआवासीय नेपाली र उच्च वर्गका नेपाली पनि। यसैले विदेशीले पनि बुझ्ने नेपाली फ्लेभरसहितको ब्रान्ड नामको खोजी थियो। 

यसमा धेरै माथापच्चीपछि जुर्यो— कासा डेरा। ‘स्पेनिस शब्द कासाको अर्थ घर हो, डेरा नेपाली,’ महतोले प्रस्ट्याए, ‘कासा डेराले विदेशी र नेपाली दुवैलाई छुन्छ, र यसले हाम्रो सेवा के हो भन्ने पनि बुझ्न गाह्रो पर्दैन।’



उनी सम्झन्छन्, आफ्नै प्रोपर्टी विकास गरेर वा किनेर ठूलो संख्यामा सर्भिस अपार्टमेन्ट सञ्चालन गर्नु लगानी, बजार र जोखिम तथा प्रतिफल सबै दृष्टिले सम्भव थिएन। त्यसैले अरूको प्रोपर्टी लीजमा लिएर त्यसलाई व्यवस्थापन आफूले गरिदिने, आम्दानी प्रोपर्टीधनीसँग शेयर गर्ने गरी सेवा सञ्चालनको मोडालिटीमा जाने तय भयो। 

व्यक्तिगत स्तरमा यस्तो सेवा सञ्चालन गरिरहेका भन्दा फरक, स्तरीय र ठूलो सञ्जालमा काम गर्ने ध्येय हो कासाडेराको। यसको उद्देश्य नेपालमा ठूलो नेटवर्कसहितको ‘सर्भिस अपार्टमेन्ट’ सेवा विस्तार गर्नु हो। निकट भविष्यमा सर्भिस भिल्ला र इन्डिभिजुअल सर्भिस हाउस पनि सञ्चालनको योजनामा छ कासा डेरा। 

सुरुआती दिनमा यो अवधारणामा प्रोपर्टी लीजमा लिएर सर्भिस अपार्टमेन्ट सञ्चालनका लागि प्रोपर्टी भेटाउनै र भेटिसकेपछि पनि त्यसका धनीलाई मनाउन मुस्किल परेको थियो। लीजमा लिएर सञ्चालन गरिएका अपार्टमेन्टको अकुपेन्सी दर पनि दयालाग्दो थियो। 

‘पहिलो युनिट रेन्टआउट हुनै २ महिना लागेको थियो,’ महतो सम्झन्छन्, ‘अहिले औसतमा ६० प्रतिशत पुगेको छ र यो दर बढ्ने क्रममा छ।’ 



सञ्चालनमा आएको दश महिनामै लाजिम्पाट, सानेपा, हात्तीवन, झम्सीखेल, सोल्टीमोड र पाटन दरबार क्षेत्रलगायतका स्थानमा गरी कुल ३५ युनिट अपार्टमेन्ट कासा डेरासँग छन्। केही निकट भविष्यमै सञ्चालनमा आउने गरी पाइपलाइनमा छन्। यो संख्या आगामी एक वर्षभित्र कम्तीमा सय युनिट पुग्ने महतोको विश्वास छ। 

गुणस्तरमा तीनतारे बेञ्चमार्क 
चाहनेबित्तिकै जोकोहीले जस्तो प्रोपर्टी पनि यसको ब्रान्डमा लिस्टिङ गराउन पाउँदैनन्। कारण, कासा डेराले कस्तो प्रोपर्टी लिने भन्ने आफ्नो बेञ्चमार्क तय गरेको छ। ‘प्रथमतः ५ देखि १० वर्षका लागि लीजमा लिएर सेवा सञ्चालन गर्ने भएकाले हामी त्योभन्दा छोटो अवधिका लागि मात्र लीजमा दिन चाहने प्रोपर्टी लिँदैनौं,’ महतोले भने। आवश्यकताअनुसारको लीज अवधि मेल खाइसकेपछि कासा डेराले सम्बन्धित प्रोपर्टी फिल्डमै गएर अडिट गर्छ।

‘हाम्रा सबै अपार्टमेन्टको सेवा सुविधा कम्तीमा तीनतारे होटलस्तरको हुन्छ। यसैले, अडिटबाट सोअनुसारको सेवा–सुविधामा अपग्रेड गर्न सकिने अवस्थाको देखिएका प्रोपर्टी मात्र हामी लिखित सम्झौता गरेर लिन्छौं,’ उनी भन्छन्, ‘हामीले लिइसकेपछि कोठामा कहाँ कस्तो फर्निसिङ कसरी गर्ने भन्ने हामी सुझाउँछौं, त्यसका लागि लाग्ने खर्च प्रोपर्टीधनीले नै बेहोर्नुपर्छ।’

प्रोपर्टी अरूकै, त्यसमा तीनतारे होटलस्तरको इन्टेरियर फर्निसिङ र त्यसका लागि सुरुआती लगानी प्रोपर्टीधनीकै। व्यवस्थापन तथा सञ्चालन मात्र कासा डेराको। 

यस्ता शर्तहरूको सीमामा रहेर प्रोपर्टीधनीले किन कासा डेरालाई आफ्नो घर/अपार्टमेन्ट वर्षौंसम्म लिजमा दिने? रूपेश प्रस्ट्याउँछन्— कासा डेराले सम्बन्धित सर्भिस अपार्टमेन्ट सञ्चालन गर्दा हुने हाउसकीपिङ, सेक्युरिटी गार्ड, युटिलिटी महशुल, मर्मतसम्भारलगायतका प्रत्यक्ष खर्चहरू कटाएर हुने आम्दानीको ८० प्रतिशत अपार्टमेन्टधनीलाई शेयर गर्छ, बाँकी २० प्रतिशत मात्र उसले राख्छ। कासा डेराले अपार्टमेन्टको विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय प्लेटफर्ममा गर्ने मार्केटिङको खर्चहरू र अपार्टमेन्टको अन्य सञ्चालन लागत आफ्नो हिस्साको २० प्रतिशतबाटै बेहोर्छ। 



कासा डेराले व्यवस्थापन गरेको सर्भिस अपार्टमेन्ट र अन्यको स्तरमा उपभोक्ताले धेरै फरक महसुस गर्ने महतोले दाबी गरे। उनले भने, ‘हाम्रोमा सेवासुविधा कम्तीमा तीनतारे होटलको जस्तो र प्राइभेसी घरको जस्तो रहन्छ ।’ 

अपार्टमेन्ट वा घरधनीले आफ्नो प्रोपर्टी आफूसँग हुँदाभन्दा कासा डेरामा राम्ररी केयर भएको पाउने हुँदा अहिले आफैं लीजमा लिनका लागि अनुरोधहरू आउने गरेकाले कासा डेराले लय समातेको देखिन्छ। 

‘यसबाहेक हामीले विभिन्न प्लेटफर्महरूमा मार्केटिङ गर्ने हुँदा हाम्रो नेटवर्क व्यक्तिगतभन्दा धेरै फलाकिलो हुन्छ,’ महतो थप्छन्, ‘कासा डेराले कुनै प्रोपर्टी कम्तीमा ५ देखि १० वर्षका लागि लीजमा लिने हुँदा प्रोपर्टीधनीले दशै वर्ष (१२० महिना) राम्रो रेन्टल आम्दानी गर्न सक्ने सम्भावना रहन्छ, जुन व्यक्तिगत स्तरबाट हुन मुस्किल छ।’

उनी थप्छन्, घरधनीहरूले प्रत्यक्ष खर्च मात्र याद गर्छन्। अप्रत्यक्ष रूपमा आइपर्ने प्रोपर्टीको मर्मत खर्च, त्यसका लागि आफू स्वयम् खटिनुपर्दा खेर जाने समयलगायतको लेखाजोखा हुँदैन, जुन प्रत्यक्ष खर्चभन्दा पनि बढी हुने हुँदा कासा डेराको ब्रान्ड मातहत त्यस्ता प्रोपर्टी ल्याए घरधनीलाई प्रत्यक्ष/अप्रत्यक्ष दुवै रूपमा फाइदा पुग्छ।  

दैनिक ४ हजारमै सुविधासम्पन्न अपार्टमेन्ट
तीनतारे स्तरका सम्पूर्ण सेवा–सुविधासहितको कासा डेराका सर्भिस अपार्टमेन्ट बस्न दैनिक ४ हजार रुपैयाँ मात्र लाग्ने महतोले बताए। बसाइ जति लम्बिँदै जान्छ, दैनिक भाडा दर सस्तो पर्दै जानेछ। उनका अनुसार, मासिक ६० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म पर्ने सर्भिस अपार्टमेन्ट कासा डेरामा छन्। सबै एकाइमा २४ सै घण्टा सुरक्षा, बत्ती, चिसो तथा तातो पानी, एसीलगायतका सुविधासहित प्राइभेट किचेन छन्।
 
यद्यपि, जोकोहीलाई अथवा जुनसुकै प्रयोजनका लागि यसमा बस्न पाइने छैन। निर्धारित प्रयोजन, नियम र गाइडलाइनको परिधि सम्बोधन गर्न सक्ने ग्राहकले मात्र कासा डेरा रेन्टआउट गर्न पाउनेछ। महतो  थप्छन्, ‘हामी जेन्युन प्रयोजनले बस्न आउनेलाई मात्र अपार्टमेन्ट भाडामा दिन्छौं, दुई–चार घण्टाका लागि दिएर डेटिङ सेन्टर बनाउन चाहँदैनौं, जसले हाम्रो ब्रान्ड छवि बिगारोस्। त्यो गर्न थालियो भने सुन्धाराको लज र कासा डेरामा के अन्तर भयो र?’
प्रोपर्टी म्यागेजिनबाट