casadeyra blog

Blog.

दिनको चारदेखि ८ हजारमा सुविधा सम्पन्न अपार्टमेन्ट भाडामा

Feb 05, 2018
eightthousand-facilities

रूपेश महतोका दिनहरू सामान्य चल्दै थियो। काम पनि राम्रै थियो, दाम पनि राम्रै कमाउँथे।

मिडिया, कर्पोरेट र विज्ञापन एजेन्सी गरी करिब २० वर्ष जागिरे जीवन बिताइसकेका उनलाई सबै राम्रो हुँदाहुँदै केही नपुगेको महशुस भइरह्यो।

‘मलाई जागिर नसा जस्तो लाग्न थाल्यो। जति धेरै समय गर्‍यो त्यति जेलिँदै जाने। निश्चित समयमा तलब आउने, त्यसैले घर चलाउने अनि त्यही दैनिक रूटिन’, रुपेशले सेतोपाटीसँग भने ‘त्यो कम्फर्ट जोनबाट निस्कन निकै गाह्रो हुनेरहेछ।’

२० वर्ष लामो जागिरबाट उनले अन्ततः विश्राम लिने निर्णय गरे।

‘के गर्ने त? त्यत्तिकै जागिर छोड्नु पनि भएन,’ उनले भने, ‘केही कुरामा पायोनियोर हुनुपर्छ भन्ने सोच थियो तर, के गर्ने सोच्न सकेको थिइनँ।’

महतोले सन् २००४ देखि २००९ सम्म विजनेश एड्भान्टेज प्रालिमा काम गरेका थिए। महतो त्यहाँका हाकिमहरू शुबु श्रेष्ठ र दीपेन्द्र टण्डनसँग हितैसी थिए।

‘उहाँहरूसँग मेरो सम्बन्ध साहु र कर्मचारीभन्दा पनि दाजुभाइको जस्तो थियो र अहिले पनि त्यस्तै छ’, उनले भने।

भेटमा महतोले शुबु र दीपेन्द्रलाई व्यवसाय गर्ने सोच सुनाए। श्रेष्ठ र टण्डन पनि नयाँ विजनेस गर्ने सोचमा थिए। तर, के गर्ने भन्ने निर्क्यौल गरिसकेका थिएनन्।

‘हामी बिल्कुलै नयाँ व्यवसाय गर्न चाहन्थ्यौं, सामान्य व्यवसाय गर्ने भए त मःमः पसल खोल्यो भने भोलिपल्टैबाट चल्छ नी, हामी पायोनियर हुन चाहन्थ्यौं’, रूपेशले भने। 

उनीहरूलाई के काम सुरू गर्ने भन्नेमै २ महिना लाग्यो।

शुबु सफल व्यवसायी र नयाँ नयाँ अइडिया बनाउन पनि माहिर थिए।

सन् २०१७ को जुलाइमा शुबुले दीपेन्द्र र रूपेशलाई सुनाए- अपार्टमेन्ट भाडामा दिने व्यवसाय गर्दा के होला?

शुबुले विगत तीन वर्षदेखि आफ्नो ठमेलको घरको तीन वटा फ्ल्याटलाई सर्भिस अपार्टमेन्टको रूपमा एयरबिएण्डबि डट कममार्फत् पर्शनल लेबलमा भाडामा दिएका रहेछन्।

थाहा भएका नेपालीले एयरबिएण्डबि डटकम र बुकिङ डटकम जस्ता विदेशी कम्पनीमार्फत् अपार्टमेन्ट र होटल बुकिङ गर्दा रहेछन्।

दीपेन्द्र र रूपेशलाई यो आइडिया मनपर्‍यो। उनीहरूले ढिला नगरी तत्कालै तयारी सुरू गरे।

‘हामीले लगत्तै बजार अध्ययन सुरू गर्‍यौं र काम अगाडि बढायौं,’ रूपेशले भने, ‘नेपालमा पर्यटन बढ्दो छ। अझ अहिले त होटलमा मात्र नभइ सर्भिस अपार्टमेन्टको आकर्षण बढ्दो छ।’

१५/२० दिन बस्न पर्‍यो भने पनि खाद्यान्न किनेर ल्यायो, ग्यास, ओभन, वासिङ मेसिन सबैको व्यवस्था त्यही अपार्टमेन्टमा हुन्छ, आफ्नै घरको फिलिङ पाउन सकिन्छ’ उनले भने।

यस्तो व्यवसाय व्यक्तिगत रूपमा विदेशी कम्पनीमार्फत् भए पनि तल्लो तहबाट ल्याउने कोही नभएको जानकारी दिए।

यसबीचमा उनीहरूले कम्पनीको नाम के राख्ने भन्नेबारे दिमाग लगाउन थाले।

‘विशेषगरी पर्यटक र गैरआवासीय नेपालीका लागि सञ्चालन गरिएकाले यसको नाम पनि विदेशीले बुझ्ने तर नेपालीपन झल्किनुपर्ने हाम्रो मान्यता थियो,’ रुपेशले भने।

नाम शुबुले जुराए- कासाडेरा।

स्पेनी भाषामा घरलाई कासा भन्दो रहेछ र नेपाली शब्द ‘डेरा’ मिलाएर ‘कासाडेरा’ राखियो।

यो व्यवसायले गर्दा घरबेटी र भाडामा बस्ने दुवै पक्षलाई फाइदा पुग्ने उनीहरूको अपेक्षा छ।

‘धेरै सम्पत्ति भएको मान्छेहरू सम्पत्ति व्यवस्थापन गर्नै भ्याउँदैनन्। घर भाडा, सामान व्यवस्थापन लगायत गर्ने समय उनीहरूसँग हुँदैन। त्यस्तै विदेशमा भएका तर, काठमाडौंमा घर भएकाले घर खाली छोड्दा फर्केर आउँदा बस्न लायक रहँदैन। यस्तोमा खाली घर भाडामा लगाए २-३ वर्षपछि फर्केर आउँदा पनि घरका सामानको सुरक्षा हुन्न। त्यसैले बजारमा भएको ग्याप पूरा गर्न हामी आएका हौं’, उनले थपे, ‘हामी घरबेटीको घर, सम्पत्ति सुरक्षित गरिदिन्छौं, मेन्टेन गरिरहन्छौं र राम्रो मुनाफा पनि दिन्छौं।’

नेपालमा अस्तव्यस्त रहेको सर्भिस अपार्टमेन्ट व्यवसाय व्यवस्थित पार्न आफूहरूले सुरूवात गरेको रुपेश बताउँछन्।

आफूहरू कम्पनी भएको नाताले अपार्टमेन्टमा बस्न आउनेको सुविधाको पूर्ण ग्यारेन्टी हुने उनको दाबी छ।

त्यसैगरी १ वर्ष, ६ महिनासम्म नेपालमा बस्नेका लागि फर्निचरदेखि वासिङ मेसिनसम्म किन्नुपर्ने हुन्छ। त्यत्रो समय होटल बस्दा खर्च धेरै हुन्छ। एउटा कोठामा बस्नुभन्दा सर्भिस अपार्टमेन्ट सयौं गुणा राम्रो हुने उनको भनाइ छ।

उनीहरू अपार्टमेन्टलाई उच्चस्तरीय बनाउन अडिट गरेर खर्च हिसाब गर्छन् र सामान थप्न र बनाउन घरबेटीलाई पनि सहमत गराउँछन्।

‘हामीले किन्ने/बेच्ने होइन। फर्निसिङ पनि घरबेटीलाई नै गर्न मनाउँछौं। भोलि सम्झौता सकिएपछि हामीले लाने पनि होइन,’ उनले भने।

यसबाहेक मर्मत र व्यवस्थापन भने कम्पनीले नै गर्ने उनले जानकारी दिए।

कासाडेरा नाफा बाँडफाँट मोडालिटीअनुसार सञ्चालित कम्पनी भएको रुपेशले बताए।

‘जम्मा आम्दानीमा हाउस किपिङ, सुरक्षा गार्ड खर्च, बिजुली, मर्मत लगायत कटाएर कासाडेराले २० प्रतिशत लिन्छ। बाँकी घरबेटीलाई दिन्छ’, उनले भने।

कतिपय ठाँउमा भने घरबेटीले नमानेको खण्डमा पहिल्यै सम्झौता गरेर घर लिने गरेको उनले जानकारी दिए।

कासाडेराले लामो र छोटो अवधिको लागि अपार्टमेन्ट भाडा दिने गरेको छ।

रुपेशका अनुसार कासाडेरामा बसेको करिब ४ हजारदेखि ८ हजार रुपैयाँ (४० देखि ७५ डलर) सम्म पर्छ। अपार्टमेन्टको भाडा कोठा संख्या, ठाउँ आदिको आधारमा फरक-फरक हुन्छ।

‘कासाडेरामा कुनै होटलको एउटा कोठामा बस्ने मूल्यमा अपार्टमेन्टमै बस्न पाइयो। यो मूल्य निकै कम हो,’ उनले भने।

अहिले कासाडेराले सानेपा, झम्सिखेल, सोल्टीमोड, लाजिम्पाट लगायत स्थानमा ३५ वटा अपार्टमेन्ट तयार पारेको छ। कम्पनीले अपार्टमेन्ट संख्या आवश्यकता अनुसार बढाउन लागेको छ।

अपार्टमेन्ट १ दिनको लागि मात्र पनि पाइन्छ। यसले कामको सिलसिलामा काठमाडौंमा आउनेको लागि यो निकै उत्कृष्ट रहेको उनको दाबी छ।

अहिले उनीहरू घरधनी र पर्यटकलाई बुझाउने काम गरिरहेका छन्।

‘हामी सेवा प्रदायक हौं। बस्ने मान्छेको सुविधा, घरबेटीको भाडा र सामानको सुरक्षा लगायत सबै झण्झट बेहोर्छौं’, रुपेशले थपे, ‘हामी नेपालीको लागि घर भनेको घर मात्र होइन, जिन्दगीभरको कमाइ हो। यसमा धेरै भावनाहरू जोडिएको हुन्छ। त्यो जोगाउने जिम्मा हाम्रो हो।’